कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशिका जातकका लागि समग्रमा २०८१ साल मध्यम फलदायी वर्ष नै रहनेछ । बृहस्पति, राहु, केतु र शनिको साढेसातिको नकारात्मक प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ, तर भौतिक सुखमा भने बढोत्तरी हुनेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए शुभ फल मिल्ने निश्चित छ ।
व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ, तर नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ । स्वास्थ्य व्यवसाय, घर जग्गामा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाइनेछ, तर सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । व्यवसायी दृष्टिले श्रावण, कार्तिक माघ र चैत्र महिना राम्रो हुनेछ ।
प्रेम/सम्बन्ध
यो वर्ष दाम्पत्य जीवनमा सामान्य उतारचढाव आउनसक्छ । प्रेम प्रसङ्गका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूले मात्र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।
शिक्षा
यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो प्रतिफल नमिल्ला । मनमा चञ्चलता बढ्नाले पढाईमा ध्यान दिन नसकिएला । सोध, गणित र व्यवस्थापन विषयका विद्यार्थीहरू बढी लाभ हुनसक्छन् । वैशाख र जेठ महिनामा विद्यामा ह्रास आउनसक्छ । भाद्र र पुष महिनामा रोकिएको परीक्षा उत्तीर्ण गर्न सकिएला ।
पेशा/रोजगार
पेशा वा रोजगारमा दबाब र तनाव बढेको महसुस हुनेछ र अबजस आइलाग्न सक्छ । कल कारखाना र व्यापार व्यवसायमा खासै राम्रो हुनेछैन । पर्यटन र प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । पत्रकारिता र वैदेशिक रोजगारमा लागेकालाई भने राम्रै हुने देखिन्छ । साउनबाट नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना रहेको छ ।
स्वास्थ्य
यो वर्षमा स्वास्थ्यमा आफूलाई या घर परिवारको स्वास्थ्य, औषध र उपचारमा धन खर्च हुनसक्छ । रक्तसञ्चार, वायु विकार, टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, उचित परामर्श र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
शुभ रङ्ग
गुलाबी, निलो, सेतो, पर्पल र रातो शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ४, ७ र ८ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक मंगलबार गणेशजीको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । बृहस्पति, शनि र केतुको ग्रह शान्ति गर्दा राम्रो हुनेछ । मान्यजनको आशीर्वाद लिनाले राम्रो हुनेछ । आफ्नो जन्म दिनमा अशक्तलाई साथ, सहयोग सहित भोजन गराउनाले पनि ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन या पूजा गर्नाले गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
View All yearly Rashifal
Liked by: