ट्राभल हिस्ट्री नभएका थुप्रै व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिकाले शनिवारदेखि दुई साताको लागि विराटनगरमा लकडाउन लागू गरेको छ । समुदाय स्तरमा नै कोरोनाको जोखिम बढ्न थालेकोले श्रावण ७ गतेबाट खुलेको लकडाउन पुन कडाईका साथ लगाउनु परेको मेयर भिम पराजुलीले बताएका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि आएको छ। लकडाउन खुलेपनि अति आवश्यक कार्य भन्दा बाहेक घरबाट ननिस्किन स्वास्थ मन्त्रालयले सबैलाई बारम्बार अनुरोध गर्ने गरेको छ । कोरोना नियन्त्रणको लागि सरकारको भूमिका चित्त बुझ्दो नभएको भन्दै आज ‘इनफ इज इनफ’का अभियान्ताहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिंदा प्रहरीले उक्त प्रदर्शनमा हस्तक्षेप गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेमा विवेकशील नेपालीकी नेतृ रञ्जु दर्शना समेत परेकी छिन्।