देशभर विभिन्न स्थानमा बाढी पहिरो , यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने
हिजो बेलुकादेखि लगातार वर्षा भएसँगै देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति हुनेगरी बाढी तथा पहिरो गइरहेकाे छ । यो रिपोर्ट तयार पार्दासम्म जाजरकोट, लमजुङ, रुकुम पश्चिम, सिन्धुपाल्चोक, पोखरा लगायत अन्य धेरै स्थानमा गएको पहिरोमा परेर २४ जनाले ज्यान गुमाएका छन् भने ३७ जना बेपत्ता छन्। मौसम पूर्वानुमान महाशाखाले यस वर्ष बाढी, डुबान र पहिरोको जोखिम उच्च रहेको जानकारी दिएको छ । त्यसबाहेक हिजो बेलुकादेखि नेपालमा केवल च्यानलहरुले भारतीय न्युज च्यानलहरुको प्रसारण रोकेपछि भारतीय चर्चित न्यूज च्यानलका प्रधानसम्पादक सुधिर चौधरीले दिएको “नेपाल न्युज च्यानलसँग नै डरायो, सेना देखाउनै परेन” भन्ने अभिव्यक्तिको लागि माफी मागेका छन् । आज नेपाल प्रेस काउन्सिलले भ्रामक र तथ्यहिन समाचार प्रसारण गर्ने भारतीय मिडियामा रोक लगाउन भनेर भारतलाई पत्र समेत पठाएको छ । त्यसबाहेक, हिजो सरकारले छोटो दूरीको सार्वजनिक यातायात खोल्ने दिने भएपछि आज यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने भनेर निर्णय लिएका छन्। अहिलेको अवस्थामा सार्वजनिक सवारी चलाउन उचित नभएको भन्दै व्यवसायीहरूले सवारी नचलाउने भएका हुन् ।