विदेशमा अलपत्र परेकाहरुलाई सरकारी खर्चमा उद्दार गरिने
सरकारले भदौ १६ बाट अन्तराष्ट्रिय उडान शुरु गर्ने निर्णय बारे थप स्पष्टिकरण दिंदै आज संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशमा अलपत्र परेका र स्वदेश फर्कन नसक्ने अवस्थामा रहेका नेपालीहरुलाई सरकारले आफ्नै खर्चमा देश फर्काउने बताउनुभएको छ । त्यसरी फर्किएका नागरिकहरुको होटल क्वारेन्टाइन र पीसीआर परिक्षण गर्ने खर्च श्रम कल्याणकारी कोषबाट गरिने उहाँले बताउनुभयो । त्यसबाहेक, पीसीआर परिक्षण उपलब्ध भएका देशहरुबाट फर्कने नेपालीहरुले रिपोर्ट नेगेटिभ आए होटल क्वारेनटिनमा बस्न नपर्ने समेत बताउनु भयो । पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई घरमा नै १४ दिन सम्पूर्ण नियम पालना गरेर क्वारेनटिन बस्ने शर्तमा एयरपोर्टबाट सिधै घर पठाउने व्यवस्था गरिएको योगेश भट्टराईले आज स्पष्ट पार्नुभएको हो ।