लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, विभिन्न स्थान बाढीपहिरो र डुबानमा
केहि दिनयताको अविरल बर्षाले देशभरका विभिन्न स्थान बाढीपहिरो र डुबानमा परेका छन् । उपत्यका भित्र ललितपुरको टीकाथली, भक्तपुरको बालकोट र उपत्यका बाहिर वीरगंज–पथलैया औद्योगिक कोरिडोर, जाजरकोटको बारेकोट, झापा गाउँपालिका लगायत अन्य बिभिन्न क्षेत्र डुबानमा परेको छ भने पहिरोको कारण पृथ्वी राजमार्ग, हेटौंडा-कुलेखानी, सिद्धार्थ राजमार्ग लगायत देशभरका विभिन्न सडक खण्डहरु अवरुद्द भएका छन् । आइतबारदेखि देशभर लगातार वर्षा भइरहँदा जनधनको क्षति सहित देशभरको जनजीवन प्रभावित भएको छ । मौसम विज्ञान विभागले भने नेपालमा विहीबारसम्म यसरी नै वर्षा हुने अनुमान गरेको छ । यातायात व्यवसायी संघले आज साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल सरकारले असार २६ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएता पनि अहिलेको समय उपयुक्त नभएको भन्दै यातायात व्यवसायी संघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको थियो ।