नेपाल राष्ट्र बैंकले थप्यो कर्जाको सावाँ–ब्याज तिर्ने अवधि, रियल म्याड्रिडले जित्यो स्पेनिस ला लिगा
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोना प्रभावित क्षेत्रहरुलाई ६ महिनादेखि असीमित अवधिका लागि कर्जाको सावाँ–ब्याज तिर्ने समय थप गरेको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रहरुको पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनः कर्जा प्रवाहमा प्राथमिकता दिने व्यवस्था मिलाएको हो । नयाँ मौद्रिक नीति सार्वजनिक भएसँगै निजि क्षेत्रका व्यवसायीहरुले आफ्नो अधिकांश माग सम्बोधन भएको भन्दै सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । त्यसबाहेक हिजो राती भएको खेलमा भिल्लारियललाई हराउदै सात अंकको अग्रता साथ रियल म्याड्रिडले ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोना भने यसवर्ष दोस्रो स्थानमा सिमित रह्यो। कोरोना महामारीको कारण केहि समय स्थगित भएका लिग खेलहरु पछि दर्शकहरु नभएको खाली मैदानमा खेलाईएको हो ।